मेरा प्यारा मानव शिष्यहरू
सुमधुर सम्झना !
मेरो नाम जगत्गुरु कोरोना भाइरस हो । मैले काइस्टेली संवत् २०१९ को डिसेम्बर महिनामा चीनको उहान सहरमा अवतार लिएको हुँ । मलाई तपाईहरूको स्वास्थ्य अभिभावक विश्व स्वास्थ्य सङ्गठनले ‘कोभिड –१९’ नाम दिएको छ । मेरो पूरा नाम कोरोना भाइरस डिसेम्बर–१९ हो । मेरो चल्तीको नामचाहिँ ‘कोभिड–१९’ नै हो । म चीनको हुवई प्रान्तको उहान सहरमा केही दिन बसेर विश्व–यात्रामा निस्केको छु । मलाई युरोप र अमेरिकाका शिष्यहरूले मिठो मेजमान खुवाएकाले हलक्क बढेको छु । म तपाईंहरूले मानव सभ्यताको महान् यात्रामा प्रकृतिको शोषण गरेर आफ्नो स्वार्थ पूरा गर्दा भएका कमीकमजोरीका कारण घटेको मानव जातिको आयुलाई लम्ब्याउन अवतरित भएको हुँ । म थोरै मनुष्यको ज्यान खाएर धेरै मनुष्य सुरक्षित हुने ज्ञान दिन आएको हुँ । तपाईंहरूले मलाई विश्व महामारीको उपनाम दिनुभएको छ र बन्दाबन्दी गरेर बस्नुभएको छ । परमादरणीय गुरुको आगमनमा दिल खोलेर स्वागत गर्नुको साटो घरभित्र लुक्नुभएको छ । तपाईंहरूको यस्तो अशिष्ट व्यवहारबाट म अत्यन्तै दुःखी भएको छु ।
मेरा प्यारा मानव चेलाहरू !
तपाईंहरूका महान् वैज्ञाानिक एवम् मेरा अत्यन्तै प्रिय शिष्य स्टेफन हकिङ्सले अहिलेकै गतिले जलवायु परिवर्तन हुँदै जाने हो भने अबको दुई सय वर्षपछि पृथ्वी मानवजातिका लागि बस्न योग्य हँुदैन भन्ने निष्कर्ष छाडेर गएका छन् । एक्काईसौँ शताब्दीका अहङ्कारी मानव प्रवृत्ति सूक्ष्मरूपमा गहन ढङ्गले खोज–अनुसन्धान गरी हकिङ्सले यो निष्कर्ष निकालेका थिए । तपाईं मानवजातिहरूको स्वार्थी पूँजीवादी उपभोक्तावादी अर्थ–राजनीतिका कारण हकिङ्सको महान् वैज्ञानिक अनुसन्धानको निचोड पानीमाथिको पाइला बन्न पुगेको छ । मेरी सत्र वर्षे साहसी चेली गे्रटा थन्वर (Greta Thunberg) ले जलवायु परिवर्तनका कारण भावी मानव सन्ततिको जीवन सङ्कटमा परेको आवाजले संयुक्त राष्ट्र संघको ढोका त ढक्ढक्यायो तर पूँजीवादको अहम्ले उन्मत्त बनेको विश्व नेतृत्वले त्यस आवाजलाई सशक्त हुन दिएन । प्रकृतिको स्वरूपलाई नबिगारी भौतिक पूर्वाधार बनाउने सल्लाह दिने वातावरणीय अर्थशास्त्रीको सक्कली योजना पनि विवेक गुमाएर आवेगबाट चल्ने मेरा शिष्य नेताहरूले ओझेल पारिदिए । प्राकृतिक स्रोत–साधनको निर्मम ढङ्गले दोहन गरी आफ्नो जीवनलाई विलासी बनाएर मानव जातिलाई डाइनोसर बनाउने अभियानमा न्वारानदेखिको बल झिकेर लागि परेका शक्तिशाली देशका नेतृत्वगणलाई खबरदारी गर्न; धेरै कमीकमजोरी गर्नेलाई दण्ड दिन; प्रचलित राज्य प्रणाली; चिन्तन परिपाटी; विकास ढाँचा र स्थापित मानव सभ्यताको धुरीमा परिवर्तनको जुरी बाँध्न मैले जगत्गुरु कोरोना भाइरसका रूपमा जन्म लिएको हुँ !
मेरा अनौपचारिक कक्षाका विद्यार्थीहरू !
म तपाईंहरूलाई त्रास र आशको महामारीरूपी जैविक अस्त्र देखाएर परिवर्तन गर्न अवतार लिएको जगत्गुरु हुँ । सामान्य प्रयत्नले मेरा शिष्यहरूको मानसिकता बदलिँदैन । मेरा पर्यायवरणविद् चेलाहरूले जी–७ का सदस्य राष्ट्रका नेता एवम् उच्च दरमा कार्बन उत्सर्जन गर्ने देशका आदरणीय नेताहरूलाई पृथ्वीको तापक्रम तीव्र ढङ्गले बढिरहेको छ भनेर चेतावनी दिएका थिए । उनीहरूले ती राष्ट्रका राष्ट्राध्यक्षहरूलाई वातावरण संरक्षण गर्न कडाभन्दा कडा कानुन बनाउन अनुरोध पनि गरेका थिए । पेट्रोललियम पदार्थ बेचबिखन गर्ने नाफाखोर पूँजीपतिहरूको दह्रो प्रभाव र कडा कानुन बनाउने नीतिबाट पछि हटे । यही गतिले कार्बन उत्सर्जन हुँदै जाने हो भने एक्काईसौँ शताब्दिको पुछारतिर पृथ्वीको तापक्रम ३ डिग्री पुग्ने अनुमान पर्यायवरणविद्हरूको छ । प्रकृति र मानवबीच सम्बन्ध खल्बल्याउने काममा मेरा प्रिय शिष्यहरू लागि परेका छन् । मेरा चेलाहरूका पूँजीवादी उपभोक्तावादी अर्थ राजनितिका कारण मावन आयु घटिरहेको अवस्था छ । मैले यस्तो विकराल अवस्था टुलुटुलु हेरेर बस्न सकिनँ । मैले साना र अल्पविकसित देशमा जन्मन चाहिँन । औद्योगिकीकरणका माध्यमबाट आर्थिक समृद्धिको यात्रा गरिरहेको विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनमा जन्म लिएँ । म अहिले अमेरिकामा रमाइरहेको छु । मेरा चेलाहरूले कानुन बनाएर गल्ती गर्नेलाई मृत्युदण्डको सजायसमेत दिँदै आएका छन् । मेरा मानव चेलाहरूले आफ्नो आनन्दका लागि प्रकृतिको चक्रलाई खल्बल्याएर मानव जातिको युगयुगसम्म बाँच्ने हक खोसे । त्यसैले मैले केही लाख मानिसलाई मृत्युदण्ड दिएर केही अर्ब मानिस जोगाउन लागेको छु । मानिसको धर्म प्रकृति अनुकुल चल्नु हो । प्रकृतिको अनुकुल हिँड्दा पुरस्कार पाइँदैन तर विरुद्ध जाँदा दण्ड अवश्य पाइन्छ । तपाईंहरू शाकाहारी वर्गको प्राणी भएर मांशाहारी बनी प्रकृति विरुद्ध जानु भएको छ । तिखा दाँत, घुमेका नङ्ग्रा, जिभ्राले पानी खाने; जिभ्राबाट पसिना निकाल्ने र आँखा चिम्लेर जन्मने प्राणी मांसाहारी हुन् । मान्छेमा यी कुनै विशेषता पनि छैनन् । मान्छे प्राकृतिक रूपमा शाकाहारी प्राणी हो । म चमेरामा चुपचाप लागे बसेको थिएँ । चीनको वुहानका नागरिकहरूले चमेरो खाए । अति भएपछि खति हुन्छ भनेझैँ म जैविक हतियार भएर निस्किएँ । मलाई आणविक बमले छुन सक्दैन । मैले मेरा प्रिय विद्यार्थीहरूलाई मृत्युको महात्रास देखाएर मानव र प्रकृतिबीचको पुरानो सम्बन्धलाई पुनर्जीवन दिन खाजेको छु र मानव जातिमा आशाको दियो सल्काएको छु । जगत्लाई नै परिवर्तनको शिक्षा दिएकाले म जगत्गुरु हुँ । मृत्युको भयले जति छिटो परिवर्तन केहीले पनि ल्याउन नसक्ने भएकाले मैले भावी मानव सन्ततिको जीवन सुरक्षाका लागि यो बाटो रोजेको हुँ ।
प्रिय अनुचरहरू !
तपाईंहरूले आ–आफ्नो देशमा अपनाउनु भएको राज्य प्रणालीमा रहेको कमीकमजोरी सच्याएर अगाडि बढ्न आवश्यक देखेको छु । अहिलेको विश्वमा सर्वसत्तावादी साम्यवादी शासन; नव उदारवादी प्रजान्तात्रिक शासन र उदारवादी लोकतान्त्रिक कल्याणकारी राज्यप्रणाली प्रचलित देखिन्छन् । चीन, क्युवा उत्तरकोरिया आदिजस्ता मुलुक सर्वसत्तावादी साम्यवादी चरित्र भएका मुलुक हुन् । यी देशमा हरेक कुरा राज्यद्वारा निर्देशन र नियन्त्रण छ । यी देशमा नागरिकको स्वतन्त्रता, मानवअधिकार र न्यायको कुनै गुञ्जायस छैन । चीनको आर्थिक नीतिचाहिँ पूँजीवादी नै हो तर शासकीय स्वरूपचाहिँ सर्वसत्तावादी कम्युनिष्ट शासन नै हो । अमेरिका, भारत बेलायत फ्रान्स, अस्ट्रेलिया आदिजस्ता देशले नव उदारवादी प्रजातान्त्रिक शासन व्यवस्था अँगालेका छन् । यी देशहरूले राज्यको भूमिका बजारलाई छाडेका छन् । यसले उपभोक्तावादी पूँजीवादी अर्थ–संस्कृतिको बढी नै जर्गेना गरेको छ । यहाँ हुने–खाने र भए–खानेको दुरी फराकिलो छ । जर्मनी, नर्वे, डेनमार्क, फिनल्यान्ड, स्विजरल्यान्ड, पोल्यान्ड आदिजस्ता देशले उदारवादी लोकतान्त्रिक कल्याणकारी राज्य प्रणाली अपनाएका छन् । राज्यको भूमिका र बजारको भूमिका सन्तुलित रूपमा रहेको छ । यो राजनीतिक–आर्थिक प्रणाली मलाई मानवजातिको स्वभाव सुहाउँदो लागेको छ । यसलाई प्रजातान्त्रिक समाजवादी राज्य प्रणाली पनि भनिन्छ ।
पृथ्वीवासी स्नेही अनुयायीहरू !
मैले तपाईंहरूको चिन्तनमा पनि क्रान्तिकारी परिवर्तन ल्याउन आवश्यक देखेको छु । पृथ्वीका प्रायः सबै चेलाहरू भौतिकवादी चिन्तनलाई मलजल गर्ने खालका छन् । आम मानिस सहरिया हुने मानसिकताले ग्रस्त छन् । म खाऊँ मै लाऊँ सुखसयल वा मोज म गरूँ भन्ने स्वार्थी मनमौजी मानसिकताले डेरा जमाएको देखेको छु । जसरी भए पनि पैसा कमाउने सोच हावी भएको पाएको छु । यो धनदौलतप्रतिको आशक्तिको यात्रा जीवन रहेसम्म टुङ्गिँदैन । यो जीवनको दुःखदायी चिन्तन हो । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता शत्रुको घेराबन्दीमा रहने भौतिकवादी चिन्तनका कारण तपाईं मानवहरूले उपभोक्तावादी अर्थराजनीतिको वायुपङ्खी घोडा चढेर प्रकृतिमाथि निर्मम ढङ्गले बलात्कार गरिरहनुभएको छ । तपाईंहरूको अपराध मृत्युदण्ड योग्य छ । अहिले यही अपराधको सजाय पाइरहनु भएको छ । ‘कठैबरा !’ भन्ने ठाउँ छैन । अब तपाईंहरू आध्यात्मिक चिन्तनतिर लाग्नुहोस् । जनताजनार्दनको भक्ति गर्नुहोस्; ज्ञानीजनको सत्संङ्ग गर्नुहोस् अनि विकास गर्नुहोस् परोपकारी स्वभाव यी भक्ति ज्ञान र परोपकारजस्ता त्रिरत्न जोडिएको जीवन आध्यात्मिक हो । मानवजातिलाई इश्वर सम्झेर असल मान्छे र ज्ञानविज्ञान भएका शास्त्रको सङ्गत गरी सारा जीवन मानवसेवामा समर्पित गर्नु नै आध्यात्मिक चिन्तन हो । विश्वका धनाद्य व्यक्ति एवम् मेरा परोपकारी शिष्य बिल गेट्स फाउन्डेसनमा ३६ अर्ब अमेरिकी डलर मिलिन्डा गेट्स फाउन्डेसनमा हालेका छन् । त्यो रकम फाउन्डेसनले समय समयमा देखिएका मलेरिया, टिबी, एड्स निमोनिया, इबोला कोभिड १९ जस्ता रोगविरुद्ध लगानी गरिरहेको छ । मेरा अर्का शक्तिशाली शिष्य अमेरिकन राष्ट्रपति डोनाल ट्रम्टले धन र पदले उन्मत्त भएर विश्व स्वास्थ्य सङ्गठनलाई दिँदै आएको सहयोग कटौती गरी राम्रो काम गरिरहेको संस्थालाई धरासयी बनाउने यात्रामा छन् । यो चिन्तन भौतिकवादको उपज हो । मलाई यो चिन्तन मन परेको छैन । उनको अहङ्कारको पारो अझै झरेको छैन । त्यही भएर म त्यस देशमा बढी सक्रिय छु । उनको अहङ्कार नघटाएसम्म संसारमा परिवर्तन आउँदैन । विश्वभरिका सबै मेरा धनी चेलाहरू मिलेर विश्व कल्याणकारी कोष विश्व बैँकको अधिकृत पूँजीभन्दा बढीको हुन सक्छ । यस कोषको अध्यक्ष चाहिँ बिल गेट्सलाई बनाई पृथ्वीका मानवको स्वास्थ्यमा यो रकम खर्च गर्नुपर्छ । मानवतावादी राज्य प्रणाली बनाउन विश्व नेतृत्वलाई घच्घच्याउनुपर्छ । परोपकार नै पुण्य हो । यही चिन्तन अब मावनले बोक्नु पर्ने आध्यात्मिक चिन्तन हो । यो मानवतावादी व्यवस्थाको बलियो जग हो ।
प्रिय धरावासी सुजनहरू !
अब तपाईंहरूले विकासको ढाँचामा परिवर्तन नल्याई धर छैन । मानव स्वास्थ्यभन्दा ठूलो समुद्रमाथिको पुल होइन; मावन जीवनको रक्षा भन्दा ठूलो कृत्रिम चन्द्रमा होइन; मानव सुरक्षाभन्दा ठूलो समुद्रमाथिको एयरपोर्ट होइन । मानव स्वास्थ्यभन्दा ठूलो जङ्गल फाँडेर एयरपोर्ट बनाउनु होइन । जीवनभन्दा ठूलो पुत्पुत धुवाँ निकालेर ओजनतह प्वाल बनाउने उद्योगहरू होइनन् । प्रकृतिको चीरहरण गरेर विकास गर्ने कामले वन्यजन्तु सङ्कटमा परेका छन् । विकासको गलत ढाँचाले मानिस गाउँ रित्याएर सहर पसेका छन् । फ्रान्सेली दार्शनिक एवम् मेरा प्रिय शिष्यले २०० वर्ष अगाडि भनेको प्रकृतितर्फ फर्क (Back to the nature) आज पनि उत्तिकै सान्दर्भिक छ । उद्योगीकेन्द्री अर्थनीति होइन कृषिकेन्द्री अर्थनीतिलाई बढावा दिनुपर्छ । जन स्वास्थ्य र कृषिमा लगानी बढाउनुपर्छ । हिमालदेखि समथर जमिनसम्म सिँचाईँ सुविधा पु¥याउनुपर्छ । श्रमलाई उच्च महŒव दिनुपर्छ । हातहतियार र सैनिककरणको खर्च कटौती गर्नुपर्छ । जनस्वास्थ्य रोजगारी र सामाजिक सुरक्षामा सरकारको ध्यान जानुपर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउने गुर्जो, लसुन, कागती, बेसार, हलेदो अदुवा आदिजस्ता औषधीय कृषिउपजको खेतीलाई विस्तार गर्नुपर्छ । चाउचाउ, चिजबल, कोकाकोला, लेज कुरकुरे आदिजस्ता स्वादिला तर अपौष्टिक खानेकुरा उत्पादन गर्ने उद्योगहरूलाई निरुत्साहित गर्नुपर्छ । टाढाटाढा बस्ने, खेतीपाती गर्ने, आफूलाई चाहिने आफैँ उत्पादन गर्ने गाउँले जीवन सुखी र स्वस्थकर हो भन्ने विकास नीति बनाउन बिर्सन हुँदैन । विकास जीवनको स्वास्थ्य सुरक्षा, वातावरणमैत्री र दिगो हुनुपर्छ । म तपाईंहरूलाई विकासको ढाँचा फेर्नुहोस्, प्रकृतिमैत्री विकास गर्नुहोस् भन्न अवतार लिएको हुँ । कोरोनाको कष्टकर कहरबाट चेत्नुहोस् । चेत्नहुन्न भने म यत्ति भन्न सक्छु ः भिरमा गएको गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन ।
मेरा प्रिय अनुजहरू !
म तपाईं पृथ्वीवासी अनुजहरूलाई सरसफाई र स्वास्थ्य जीवनको अमूल्य निधि हो भन्ने दिव्य ज्ञान दिन चाहन्छु । बिहान सबेरै उठ्ने, घर र आँगन सफा बनाउने, हातपाउ धोएर घरभित्र छिर्ने, जिउ खल्खल्ती नुहाउने, खाना राम्ररी पकाउने, हात मिचीमिची धोएर हातले खाने संस्कार तपार्इंहरूका ऋषिमुनि पुर्खाले गहिरो खोज–अनुसन्धान गरेर व्यवहारमा ल्याएका कालजयी संस्कार हुन् । हातले दिसा धोएर साबुनपानीले हात मिचीमिची धुने र बाटाघाटामा थुक्दै खकार्दै नहिँड्ने संस्कारका आविष्कारक पनि तपाईंहरूकै पुर्खा हुन् । परैबाट नमस्कार गर्ने र गोडामा ढोग्ने संस्कारका जनक पनि तपाईंहरूकै पुर्खा हुन् । आँखा, नाक, मुख जस्ता इन्द्रियहरू हातले छुनु असभ्यता हो भन्ने पनि तपाईंहरूकै पुर्खा हुन् । मानिस मानिस बीच भौतिक दुरी कायम गरेर व्यवहार गर्न पनि तपाइँहरूकै पुर्खाले सिकाएका थिए । तपाईंहरूले पुर्खाको भौतिक सम्पत्तिचाहिँ अंशका रूपमा ग्रहण गर्दै आउनुभयो तर तपाइँहरूलाई निरोगी राख्ने असल सभ्यताहरू त्याग्नुभयो । पुर्खाहरूले ठूलो त्याग, तपस्या र साधनाबाट सिर्जना गरेका नमस्कारजस्तो शिष्टाचारको ठाउँमा हात मिलाउने गला र गाला जोड्ने सभ्यता भिœयाउनुभयो । आज त्यही सभ्यता तपाईको ज्यान लिने काल भइरहेछ । हातले दिसा धोएर साबुनपानीले हात मिचीमिची धोएर स्वस्थ रहने संस्कार÷सभ्यता त्याग्यौँ । ट्वाइलेट पेपरले दिसा पुछ्ने सभ्यता ग्रहण गर्नुभयो । फलस्वरूप म एउटाबाट अर्कामा सर्न सजिलै सकिरहेको छु । तपाईंहरू आफ्नो प्राकृतिक थातथलो छाडेर सुख, सुविधा र अवसर खोज्दै विश्वव्यापीकरणको फाइदा उठाइरहनुभएको छ । म तपाइँहरूको यही कमजोरीको फाइदा उठाएर संस्कारको यात्रा गरिरहेको छु । सभ्यताका नाममा तपाईंहरूले गरेको गल्तीको सजाय तपाईंहरूले नै भोगिरहनु भएको छ । तपाईंहरूकै असावधानीका कारण पृथ्वी बिरामी भएको छ । तपाईंहरूकै महान् पुर्खाले आविष्कार गरेको बसुधैव कुटुम्बकम्को आर्दश भुलेर म खाउँ मै लाऊँको सिद्धान्तमा आफ्नो सभ्यताको ताज सुरक्षित रहेको अनुभव गरिरहनुभएको छ । भौतिकवादी स्वार्थी सभ्यताका पछि कुद्ने संस्कारका कारण तपाईंहरूले पारिवारिक एकताको मजबुद सूत्र चुँडाल्नुभएको छ । संयुक्त परिवारको आत्मीयता र वंशीय संस्कार मास्नुभएको छ । मेरो उपस्थितिले तपाईंहरूलाई विश्वव्यापीकरणको पूँजीवादी आर्थिक प्रणालीको कमजोरी थाहा भएको छ, देशको महŒव थाहा भएको छ, परिवारको महŒव खुलेको छ । परिवारलाई समय दिनुपर्ने रहेछ भन्ने ज्ञान तपाईंहरू पाउनुभएको छ; छोरा नातिलाई सम्पत्ति कमाइदिने भ्रम हटेको छ; पछि परेकालाई मद्दत गर्ने सेवाको भाव पलाएको छ र तपाईं मानव जातिको प्राकृतिक चरित्र एक–अर्कालाई हेरविचार गर्ने; सुरक्षा दिने, दुःखविमारमा सहयोगी हुने अनि एक–अर्काको फाइदाका लागि काइदासँग काम गर्ने हो । तपाईंहरूले आफ्नो मूल चरित्रलाई बिर्सेर ममा केन्द्रित भई भौतिकताको महादौड दौडिरहनुभएको छ; कमजोर वर्गमाथि शोषण गरिरहनुभएको छ; जसको शक्ति उसको भक्ति भनेझैँ निर्धाको भाग खोसेर खाइरहनुभएको छ । साथै प्रकृतिका सौन्दर्य भक्ष–अभक्ष जीवका मास त हुन भनेर खाइरहनुभएको छ । हुँदा हुँदा मेरो वासस्थान चमेरो पनि खान थाल्नुभएको छ । अति भएपछि खती हुन्छ भनेझैँ कि अत्याचार सच्याउनुहोस् कि मर्न तयार हुनुहोस् भन्न आएको हुँ । कि तपाईंहरू आध्यात्मिक सभ्यतामा फर्कनु होस् कि जीवन माया मार्नुहोस् भन्न आएको हुँ ।
प्यारा मानव मित्रहरू !
म तपाईंहरूको शत्रु भएर आएको होइन । म त तपाईंहरूले राजनैतिक सिद्धान्तका नाम; आर्थिक उदारीकरणका नाममा; भौतिकवादी चिन्तनका नाममा; पूर्वाधार विकासका नाममा अनि मानव सभ्यताका नाममा प्रकृतिदेवीमाथि भइरहेको चीरहरण जस्तो अपराध गर्न छोड्न भन्न आएको जगत्गुरु कोरोना हुँ । मेरा आँखामा पृथ्वीलोकका ७ अर्ब ४६ करोड मानिस तालको पानीझैँ बराबर देखिन्छन् । तपाईंहरूको धर्म, सम्प्रदाय, पेसा वित्तीय अवस्था, पद यश आदिसँग मेरो कुनै भाइचारा सम्बन्ध छैन । अब तपाईंहरूले सबै खालका अहम्हरू त्यागेर आफ्ना राज्यहरू उदारवादी लोकतान्त्रिक कल्याणकारी बनाउनुहोस्; चिन्तन प्रणाली अध्यात्मिक बनाउनुहोस्; विकासको ढाँचा प्रकृतिमैत्री बनाउनुहोस्; सिसी मुनिको सभ्यता त्यागेर ऋषिमुनिको सभ्यता अँगाल्नुहोस् । पीडा र महामारीभन्दा ठूलो गुरु संसारमा जन्मेको छैन । तपाईं मानव जातिलाई कोरोना भाइरसको त्रासदीपूर्ण पीडाजस्तो नकारात्मक बाटाबाट जीवनलाई सकारात्मक परिवर्तन दिन खोजेको छु । आजसम्म गरेका गल्तीकमजोरी सच्याउनुहोस्; भावी मानवजातिको आयु लम्ब्याउनुहोस्; मेरो सद्भावपूर्ण शुभकामना !
तपाई शिष्यहरूको भलो चिताउने
जगत्गुरु कोराना भाइरस
न्युयोर्क, अमेरिका